
सुन्दरबजार - लमजुङमा रुख ढलेर किच्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरबजार नगरपालिका–१ कुन्छाका ८२ वर्षीय लीलादेवी मिश्र रहेकी छन् ।
प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार मृतक मिश्र घरदेखि एक सय मिटर दूरीमा रहेको कुवामा पानी भर्न जाने क्रममा सोमबार साँझ ५ बजे रुख ढलेर किच्दा घटनास्थलमै मृत्यु भएको हो ।
कुवाभन्दा अन्दाजी १० मिटरमाथि रहेको काब्रोको रुख एक्कासी ढल्दा मिश्रको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए ।
पानी परिरहेकाले जमिन भासिँदा रुख ढलेको हुनसक्ने प्रहरीको अनुमान छ । शव परीक्षण गर्न बेसीशहर स्थित लमजुङ अस्पताल ल्याइएको छ ।
मृतक मिश्रकी श्रीमान् र ३ छोरा बुहारी रहे पनि घरमा श्रीमान् मात्रै बस्दै आएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१ २१:५४
प्रतिक्रिया दिनुहोस्