TagaroNews
लमजुङमा १ सय १२ नाल बन्दुक बरामद
संकलित बन्दुक पत्रकार सम्मेलन मार्फत सार्वजनीक गरिदै ।

लमजुङ - लमजुङ प्रहरीले १ सय १२ नाल भरुवा सहितको बन्दुक बरामद गरेको छ । प्रहरीले ३ महिनाको अवधिमा सो संख्यामा बन्दुक बरामद गरेको हो । संकलित बन्दुक बुधबार जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरि सार्वजनीक गरिएको छ । 

प्रहरीले सबैभन्दा बढी एकनाले भरुवा बन्दुक १ सय ७ नाल, १२ बोर एकनाले २, एकनाले ब्रिज लोडिङ राइफल, १२ बोर दुइनाले र २२ बोर हर्नेट बन्दुक १–१ नाल संकलन गरेको प्रहरी प्रमुख डिएसपी निशान्त श्रीवास्तवले बताए । 

गृह मन्त्रालयको परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालयले ५ वर्षसम्म नवीकरण नगरेका हतियार स्वतः अवैध हुने भन्दै जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयमा बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो ।

सोही सूचनाबमोजिम गत असोज १६ गतेदेखि पुस २३ सम्म सो संख्यामा बन्दुक संकलन भएको डिएसपी श्रीवास्तवले जानकारी दिए । 

प्रशासन कार्यालयबाट बरामद गर्नुपर्ने हतियारको संख्या ७ सय ६४ रहेकोमा १ सय १२ वटा प्राप्त भएको छ । ५ सय ४५ वटाको विवरण प्राप्त भएकोमा ४ सय ७० वटाकोमात्रै लगत प्राप्त भएको डिएसपी श्रीवास्तवले बताए । उनका अनुसार विवरण प्राप्त हुन बाँकी २ सय १९ वटा हतियारको थप खोजी भइरहेको छ । 

जिल्लामा १ हजार ५ सय बढीले विभिन्न समयमा हतियार लिएको रेकर्ड भएपनि तीमध्ये ३ सय जना हाराहारीले मात्रै नवीकरण गरेको प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले बताए । 

प्रहरीले पछिल्लो समय इजाजतबिना हतियार राखेको आभियोगमा २ जनाविरुद्ध भने, मुद्दा चलाएको जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update