
काठमाडौं - आज वायु प्रदुषण धेरै भएका विश्वका सहरहरूको सूचीमा काठमाडौं पहिलो नम्बरमा आएको छ । संसारभरिका सहरको वायु प्रदुषणको मात्रा नाप्ने आईक्युएयरका अनुसार आइतबार सबैभन्दा धेरै वायु प्रदुषण भएको सहरमा काठमाडौं एक नम्बरमा पुगेको हो ।
काठमाडौंको एयर क्वालिटी इन्डेक्स २ सय ८ छ भने दोस्रो स्थानमा थाइल्यान्डको चियाङ माई सहर छ । उक्त सहरको एयर क्वालिटी इन्डेक्स १ सय ८३ छ ।
वातावरण विभागको तथ्यांकअनुसार अहिले सबैभन्दा धेरै वायु प्रदुषण शंखपार्क क्षेत्रमा छ भने त्यसपछि भैंसेपाटी, खुमलटार, रत्नपार्क, कीर्तिपुरमा बढी वायु प्रदुषण छ ।
विभागले यसअघि नै देशका विभिन्न स्थानमा लागेको डढेलोका कारण वायु प्रदुषण ह्वात्तै बढेकाले सचेतता अपनाउन भनेको थियो ।
आइतबार बिहान तुवाँलो लागेर भिजिविलिटी कम हुँदा भरतपुर, सिमरा र पोखरा विमानस्थलबाट जहाज उड्न सकेका थिएनन् ।